वीरगंज, मंसिर ३ । चेक अनादर (विगो भरी भराउ) मुद्दामा अदालतबाट २ वर्ष कैद सजाय ठहर भई फरार रहेकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ निवासी ४६ वर्षीया सबरून नेशालाई पक्राउ गरेको हो।
प्रहरी टोलीले मिति २०८३ मंसिर ३ गते बिहान करिब ९ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १२ स्थित मुर्ती चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेकी सबरून नेशालाई सम्मानित पर्सा जिल्ला अदालतले चेक अनादर (विगो भरी भराउ) मुद्दामा २ वर्ष कैद सजाय ठहर गरेको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहेकी उनलाई विशेष सूचनाका आधारमा खोजतलास गरी पक्राउ गर्न प्रहरी सफल भएको हो।
पक्राउ परेकी नेशामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले उक्त पक्राउबारे जानकारी दिँदै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताएका छन्।
