बारा, मंसिर ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुल नजिक पूर्व–पश्चिम राजमार्गमा ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
बुधबार दिउँसो करिब १२ः०५ बजेको समयमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–५ निवासी अन्दाजी ६० वर्षीय निरबहादुर वाइबा गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्नसमेत नसक्ने अवस्थामा तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले ईसीजी परीक्षण गरेपछि दिउँसो १३ः२१ बजे उनलाई मृत घोषणा गरेका थिए। उनको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, स्कुटरको पछाडि सवार उनकी श्रीमती अन्दाजी ५६ वर्षीया माइलीमाया तामाङको टाउको, हात, खुट्टा तथा ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न ईभी चालक झापा जिल्ला, बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी अन्दाजी ५० वर्षीय रमेश प्रसाई रहेका छन्। प्रहरीले ईभी र स्कुटर दुवैलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको तीव्र गति, लापरबाही तथा असावधानीका कारण हुने दुर्घटनाले मानवीय क्षति बढाउँदै लगेको अवस्थामा यस घटनाले पुनः सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।
