बारा, मंसिर ३। भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको सुर्ती तथा किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रमा अवैध चोरीपैठारी तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिएको सशस्त्र प्रहरी बल, नेपालले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–१ कल्याणपुर क्षेत्रमा उक्त सामान बरामद गरेको हो।
मिति २०८३ मंसिर २ गते विश्रामपुर गाउँपालिका–१ अन्तर्गत कल्याणपुरस्थित सीमावर्ती क्षेत्र तथा छतुवाबाट भारततर्फबाट साइकलको प्रयोग गरी भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुर्ती तथा विभिन्न किराना सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.नि.) गणेश खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले गस्तीका क्रममा अवैध रूपमा सामान भित्र्याउँदै गरेको गतिविधि देखेपछि निगरानी तथा नियन्त्रणको प्रयास गरेको थियो। सोही क्रममा भन्सार छली गरी ल्याइँदै गरेको सुर्ती तथा किराना सामान नियन्त्रणमा लिन टोली सफल भएको हो।
बरामद गरिएका सुर्ती तथा किराना सामग्रीको अनुमानित मूल्य १ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ। नियन्त्रणमा लिइएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा साइकललगायतका साधन प्रयोग गरी लुकिछिपी हुने अवैध ओसारपसार तथा राजस्व छलीका गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र मोबाइल गस्तीलाई निरन्तरता दिँदै आएको छ।
राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा सुदृढीकरण तथा अवैध चोरीपैठारी रोकथाम गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेको अभियानअन्तर्गत बरैनिया बीओपीको यो कारबाहीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
