काठमाडौ ,३ माघ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक सेमिनारलाई प्रमुख अतिथि रुपमा सम्बोधन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले नेपालको भूकम्पीय जोखिम न्यूनीकरणमा प्राविधिक जनशक्तिको सक्रियतामा जोड दिएका छन्।
डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) द्वारा आयोजित उक्त कार्यक्रममा मन्त्री यादवले नेपाल विश्वकै ११ औँ भूकम्पीय जोखिमयुक्त क्षेत्र भएको उल्लेख गर्दै विगतका भूकम्पहरूले कमजोर संरचना र असुरक्षित विकासले पुर्याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताए।
उनले सुरक्षित संरचना निर्माण, आपतकालीन पूर्वाधार व्यवस्थापन, र दिगो पुनर्निर्माणका लागि डिप्लोमा इन्जिनियरहरूको जिम्मेवार भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गरे। साथै, खानेपानी प्रणालीलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउन इन्जिनियरहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा उनले जोड दिए।
