कर्मचारीले नेताको चाकडी होइन, देश र जनताको सेवा गर्नुपर्छ : गृहमन्त्री सुदन गुरुङ

समाचार

(राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही हुने चेतावनी)

काठमाडौं, ५ मंसिर । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने प्रवृत्ति त्यागेर देश र जनताको सेवामा समर्पित हुन कडा सन्देश दिएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रसेवक कर्मचारीको मुख्य जिम्मेवारी राजनीतिक दल वा नेताको स्वार्थ पूरा गर्नु नभई देश र जनताको हितमा काम गर्नु रहेको स्पष्ट पारेका हुन्।

उनले सरकारमा आएदेखि नै कर्मचारी प्रशासन राजनीतिक प्रभाव र दलगत स्वार्थबाट मुक्त हुनुपर्ने विषयमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गरेका छन्। नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ।

पटकपटक स्पष्ट पार्दा पनि केही कर्मचारीले अझै राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको भए त्यस्तो सोच तत्काल त्याग्न उनले चेतावनी दिएका छन्।

आफ्नो पदीय जिम्मेवारी बिर्सिएर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोही कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गरिने गृहमन्त्री गुरुङले स्पष्ट पारेका छन्। यस विषयमा कुनै सम्झौता नहुने उनको भनाइ छ।

गृहमन्त्री गुरुङले सरकारलाई नेताको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख, पीडा र समस्यालाई बुझ्ने, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने तथा राष्ट्रप्रति समर्पित कर्मचारी आवश्यक रहेको बताएका छन्।

उनको यो अभिव्यक्तिले कर्मचारी प्रशासनमा राजनीतिक हस्तक्षेप, दलगत आबद्धता र चाकडी प्रवृत्तिको अन्त्य गर्दै सार्वजनिक सेवालाई निष्पक्ष, जवाफदेही र जनमुखी बनाउनुपर्ने सन्देश दिएको छ।

राष्ट्रसेवक कर्मचारीको निष्ठा कुनै राजनीतिक दल वा व्यक्तिप्रति नभई संविधान, कानुन, राष्ट्र र जनताप्रति हुनुपर्ने गृहमन्त्रीको सन्देशले प्रशासनिक क्षेत्रमा नयाँ बहससमेत सिर्जना गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *