बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई हाल काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई हाल काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई हाल काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद रु.३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ तथा व्यक्ति र संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संगलन तिनै जनालाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको नेपाल प्रहरीले जानकारी गराएको छ ।