काठमाडौं, १३ पुस
चोरीको मोटरसाइकलसहित काठमाडौंको बौद्धबाट मंगलबार दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको झुरझुरे गाँउपालिका-४ घर भइ हाल काठमाडौंको जोरपाटी बस्दै आएका २३ वर्षीय करण बोम्जन र मकवानपुरको बागमती गाँउपालिका ४ घर भइ हाल काठमाडौंको गोठाटार बस्दै आएका २६ वर्षीय नविन लोप्चन रहेका छन् ।
वास्तविक नम्बर प्लेट प्रदेश ३-०२-००९ प ४९ ०९ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ८३ ८८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित दुवै जनालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
जोरपाटीबाट हराएको उक्त एनएस २०० सिसिको पल्सर मोटरसाइकल कमल श्रेष्ठको नाममा दर्ता रहेको अनुसन्धानबाट खुलेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
बिरगंज ,जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाईकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको जानकारी गराएको छ । घण्टाघरबाट मोटरसाइकल चोरी गर्दाको अवस्थामा पक्राउ परेका बिरगंज वार्ड न.२६ का रामप्रवेश पटेलको बयानका आधारमा अन्य ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घण्टाघर नजिकै दुरसञ्चार अगाडी पार्किङ गरेको मोटरसाईकलको मास्टर साँचोको प्रयोग गरेर चोरी गरेर भाग्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको टोलीले पटेललाई नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका पटेलले दिएको बयानका आधारमा खोजतलास गर्दा विभिन्न मिती र स्थानबाट चोरी गरिएका ८ वटा मोटरसाईकल ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ५२ प ५०२४, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र म.प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाईकल सहित तिन जना वीरगञ्ज वार्ड न.२६ का २० वर्षीय रामप्रवेश पटेल, सोही ठाउँका २६ वर्षीय अशोक पटेल, भारत विहारको पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज २४ का २० वर्षीय आकाश तिवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।पक्राउ परेका चारै जनालाई चोरी सम्बन्धित कसुरमा कारबाही अघि बढाइएको र थप अनुसन्धान भइरहेको पनि उनले बताए ।