बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प, बझाङमा दर्जन बढी घरमा क्षति,भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु

समाचार

धनगढी, १० माघ । सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन् ।  जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ । सुदूरपश्चिममा सोमबार रातिदेखि बर्षासँगै पहाडी जिल्लामा हिमपातसमेत भएको छ ।

मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

उनका अनुसार गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति भएको विवरण प्राप्त भएको छ । जसमा केही घरमा पूर्णरुपमा क्षति पुगेको र केही घरमा आंसिक क्षति पुगेको विवरण आए पनि पूर्ण विवरण नआइसकेको उनले बताए ।

बाजुरामा भएको भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ । भट्ठकम्पका कारण बझाङ र बाजुराका एक सय बढी घरमा क्षति भएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *