काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पनि मतदान भइरहेको छ । उम्मेदवार र उम्मेदवारका समर्थक आफ्नो पक्षलाई मत मागिरहेका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर मत मागिरहेका छन् ।
त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन बिश्वबिद्यालयले कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।
पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।
देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ । २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्वाचनमा आइतबार विद्यार्थीको उत्साह देखिन्छ ।