रसीद आलम,पर्सा,१८ पुस।
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको तिनवटा ट्रकलाई पर्सा प्रहरीले बिरगंज बाट नियन्त्रणमा लिएको छ।लगभग रु.२ करोड बराबरको सो सामानहरु रहेको अनुमान गरिएको छ।
मंगलवार राती ११:४० बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिकाको विभिन्न ठाउँहरु बाट एक भारतीय नम्बरको कन्टेनरसहित तिनवटा ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकहरुलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा गण्डकबाट ना.४ ख ८३१८,घण्टाघरबाट ना.३ ख ४१४१ र प्रतिमा चोकबाट भारतीय नम्बरको एन एल ०१जि १८८६ नम्बरको मालवाहक ट्रकहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले जनाए ।
रू.१ करोड ८९ लाख ९७ हजार २ सय ८७ बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता थापाले जनाएका छन् ।