मकवानपुर,१८ मंसिर ।
मकवानपुर प्रहरीले १११ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मकवानपुरको मनहरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बा १० च ५३३ नम्बरको योद्धा पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। प्रहरी चौकी लेवट बसामाडीबाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, तिनताप्केस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्दा उक्त गाँजा बरामद गरेको हो।
गाडी चालक, भारतको मोतिहारी, चैनपुर, ढाका थानाका ३० वर्षीय महोमद समिरले गाडीको ढालामा बालुवा र मलले छोपेर गाँजा लुकाएको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका चालक र गाँजासहितको पिकअप गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
