रसीद आलम,बिरगंज,१२ चैत ।
पर्सा प्रहरीले ६ हजार किलो अबैध धान लोड रहेको ट्याक्टर र ८ सय १० लिटर घरेलु मदिरा लोड रहेको ट्रक सहित चालकहरुलाई पक्राउ गरेको छ्।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मालवाहक ट्रक तथा ट्याक्टरलाई चेकजाँच गर्दा अबैध मालबस्तुहरु बरामद भएकोले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चैत ११ गते बिहान् ८:३० बजेको समयमा पर्साको विन्दवासिनी गा.पा.वडा नं.४ स्थित सडकखण्डबाट ना.४ त २५७२ नम्बरको ट्याक्टरमा ६ हजार किलो रु.११ लाख ८० हजार बराबरको अबैध धान लोड रहेकोले धान र चालक पकाहामैनपुर गा.पा.वडा नं.१ बस्ने वर्ष ४५ को बिनोद कुमार महतोलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
वीरगञ्ज म.न.पा.वडा नं.२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट आउँदै गरेको ना.७ ख ७९७७ नम्बरको मालवाहक ट्रकमा लोड रहेको ८ सय १० लिटर अवैध घरेलु मदिरा सहित ट्रक र चालक बाराको जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने वर्ष ३५ को राजु यादवलाई नियन्त्रणमा लिई घरेलु मदिरा र उल्लेखित नम्बरको ट्रक सहित आन्तरिक राजस्व कार्यालय घडिअर्वामा बुझाइएको डिएसपी थापाले बताए ।