काठमाडौँ ,२७ चैत । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भिषण आगलागी भएको छ।
सोमबार अपराह्न बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको र अहिलेसम्म तयसलाई नियन्त्रणमा लिईसकेको प्रेस विज्ञप्ति मार्फत सशस्त्र प्रहरीले जनाएको छ।
यस स्टोरमा सशस्त्र प्रहरीका बन्दोबस्तीका सामग्रीहरू राखिएका बताइएको छ ।आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले सहयोग गरेका थिए । आगलागी कारण भने प्रारम्भिक रुपमा बिद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको सशस्त्र प्रहरीले प्रेस विज्ञप्ति जारी गरि बताएको छ।
प्रेस विज्ञप्ति
“सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको केन्द्रिय स्टोरको काठमाडौं बलम्बुस्थित गोदामघर (warehouse) मा चैत्र २६ गते सोमबार अपरान्ह ०४:५० बजे आगलागी भएकोमा विभिन्न स्थानहरुबाट खटिएको दमकल र पानी ट्याङ्करको सहायतामा आगो नियन्त्रणमा लिईएको छ । प्रारम्भिक रुपमा बिद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको र यो विषयमा विस्तृत छानविन गरि प्रतिवेदन पेश गर्नका लागि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा नौ (९) सदस्यीय आन्तरिक छानविन समिति गठन गरिएको छ ।
जिन्सी सामान (टेन्ट तथा लत्ताकपडा) हरु राख्ने गोदामघर भएकोले के-कति मात्रामा क्षति भयो भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र एकिन हुने जानकारी गराईन्छ । साथै आगलागी हुनासाथ तत्काल नजिक रहेका भवनहरुमा क्षति नपुगोस् भनि उच्च सावधानी अपनाईएको कारण अन्य भौतिक तथा मानविय क्षति भएको जानकारी प्राप्त नभएको व्यहोरा अवगत गराउँदै आगलागी नियन्त्रणमा सक्रियताका साथ लाग्नु भएका सबै निकाय तथा महानुभावहरुप्रति सशस्त्र प्रहरी बल नेपाल हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछ ।”