हिन्दु–मुस्लिम समुदायका अगुवाहरूसँग प्रशासनको छलफल, शान्ति र सद्भाव कायम राख्न प्रतिबद्धता

समाचार

पर्सा, २२ पुस।
पर्साको बिरगंजमा हाल देखिएको हिन्दु–मुस्लिम समुदायबीचको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित पक्षहरूसँग छलफल सुरु गरिएको जनाईएको छ।

मंगलवार बिहान ९:०० बजे प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्पन्न आकस्मिक बैठकमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा दुवै समुदायका अगुवाहरूको सहभागिता रहेको छ।

बैठकमा समुदायबीच उत्पन्न परिस्थितिबारे गम्भीर छलफल गर्दै आपसी सद्भाव, सहिष्णुता, धार्मिक सहअस्तित्व, कानूनको पालना तथा शान्ति–सुरक्षा कायम राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै संयमता अपनाउन आम नागरिकलाई अपिल गरिएको छ।

प्रहरीका अनुसार विवाद तथा असहमतिहरूलाई संवाद, सहकार्य र सामूहिक प्रयासमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने विषयमा छलफल जारी रहेको छ। प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाउँदै अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *