वीरगञ्ज, पुस २२।
पूर्वमन्त्री तथा निवर्तमान निर्वाचित जनप्रतिनिधि प्रदीप यादवले अफवाह, भ्रम र उक्साहटमा नपरी शान्ति, संयम र आपसी सद्भाव कायम राख्न वीरगञ्जवासीसँग आग्रह गरेका छन्।
वीरगञ्जवासीलाई आग्रह गर्दै यादवले आफू केवल पूर्वमन्त्रीको हैसियतले मात्र होइन, यही माटोमा जन्मिएको एक जिम्मेवार नागरिकको नाताले शान्तिका लागि अपिल गरेको बताए। उनले वीरगञ्ज सधैंदेखि हिन्दू–मुस्लिम आपसी भाइचारा, सहअस्तित्व र सद्भावको अनुपम उदाहरण रहँदै आएको सहर भएको उल्लेख गर्दै धर्म, संस्कृति फरक भए पनि साझा भविष्य एउटै भएको स्पष्ट पारे।
हाल केही भ्रम, अफवाह र भड्काउने गतिविधिमार्फत समाजमा तनाव सिर्जना गर्ने प्रयास भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै यादवले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने गलत सूचनाप्रति सजग रहन आग्रह गरे। उनले शान्ति भंग हुने कुनै पनि गतिविधि सहर, समाज र भावी पुस्ताका लागि हितकर नहुने बताए।
“शान्ति कायम राख्नु केवल प्रशासनको जिम्मेवारी मात्र होइन, हामी सबै नागरिकको साझा दायित्व हो,” उनले भने, “धर्म, जात वा समुदायभन्दा माथि उठेर एकअर्काको सम्मान गरौं र संयम अपनाऔं।”
यादवले समाजमा द्वन्द्व उत्पन्न गर्ने व्यक्ति जहाँसुकैका भए पनि तिनको पहिचान गरी कानुनको दायरामा अविलम्ब ल्याउन वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रहसमेत गरेका छन्। साथै, नेपाल सरकारले संवाद, सद्भाव र शान्ति स्थापनाका लागि चाल्ने प्रत्येक पहलमा आफू सधैं सहयोग र समर्थन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्त्यमा उनले वीरगञ्जलाई शान्ति र सद्भावको सहरका रूपमा जोगाउँदै एकता र भाइचाराको सन्देश फैलाउन सबै वीरगञ्जवासीलाई एकजुट हुन आह्वान गरेका छन्।
