वीरगञ्ज, २१ पुस ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पछिल्लो समय वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले गरेको प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएका आक्रमण तथा दुव्र्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा आज भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीले मोबाइल खोसेर आक्रमण गरेको घटनालाई निन्दनीय र आपत्तिजनक भनेको छ। समाचार संकलनमा खटिएका पत्रकारमाथि हुने यस्ता आक्रमण र अवरोधले प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारको ठाडो हनन गर्ने महासंघको ठहर छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साथै, धार्मिक समुदायसँग सम्बन्धित प्रदर्शनका समाचार सामग्री प्रसारण तथा प्रकाशन गर्दा संयमता र उच्च जिम्मेवारी अपनाउन आम सञ्चारकर्मीलाई महासंघले अपिल गरेको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जात, जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृति तथा सामाजिक सद्भावमा खलल पुर्याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्न नहुने स्पष्ट व्यवस्था रहेको विज्ञप्तिमा स्मरण गराइएको छ।
महासंघले केही सञ्चारकर्मीहरूले आचारसंहिता उल्लंघन गरी सामग्री प्रकाशन तथा प्रसारण गरेको पाइएको जनाउँदै, विशेषगरी लाइभ प्रसारणका क्रममा प्रयोग भएका केही अभिव्यक्तिहरू सम्प्रदायबीचको सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने खालका रहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
पत्रकार आचारसंहिताविपरीतका सामग्रीप्रति सचेत रहँदै व्यावसायिक धर्म र जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न महासंघले आग्रह गरेको छ। साथै, आफ्ना असन्तुष्टि प्रकट गर्ने संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपुग्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्दै भय र असुरक्षारहित वातावरणमा समाचार सम्प्रेषण सुनिश्चित गर्न तथा शान्ति, सद्भाव र सुरक्षाका लागि आवश्यक विधि–प्रक्रिया अपनाउन सरोकारवाला सबै पक्षलाई महासंघले अपिल गरेको छ।
विज्ञप्तिमा महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोको हस्ताक्षर रहेको छ।
