वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर

समाचार

काठमाडौं, २७ वैशाख । वन्यजन्तु तस्करमा दोषी ठहर भएका  कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।

तामाङले सात करोड १४ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च गरेको देखिए पनि ६ करोड ४७ लाख ७ हजार ९९४ रुपैयाँको मात्रै वैध स्रोत खुलेको छ। उनले ६७ लाख ६५ हजार ३८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको विशेषको ठहर हाे। तामाङलाई सजाय तोक्नका लागि वैशाख २७ गतेको पेसी तोकिएको छ।

यसअघि जिल्ला अदालत रसुवाले उनलाई वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको थियाे।

१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो। तामाङ सो घटनाका मुख्य अभियुक्त थिए । मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए।

रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठूलोमध्येको घटना हो। वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए। तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगै मुद्दा चलेपछि फरारको सूचीमा छन्। वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *