एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

समाचार

काठमाडौं ,१२ असोज । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् ।

केहि दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिसकेको र कानुनी निष्कर्षको प्रतिक्षा गर्ने बताएकी छिन् ।

उनले भनेकी छन्-

सामाजिक जीवन, सार्वजनिक जिम्मेवारीसँग जोडिएको व्यक्तिले पटकपटक विभिन्न सन्दर्भसँग जोडिएर आफूलाई प्रमाणित गर्नपर्छ नै । केही दिनयता भिन्न अवस्था र परिवेशका तस्बिरलाई प्रविधिको दुरुपयोग गरी दुष्प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट गर्ने तथा त्यस्ता तथ्यहीन तथा नियोजित हत्कण्ठाहरुको मतियार भएर आफूलाई प्रतिष्ठित सञ्चार माध्यम भनेर सोच्ने केही मिडियाहरूले समाचार बनाउनेसम्मका हर्कत गरेकोमा दुःख व्यक्त गर्दछु । यस्ता भ्रामक समाचार तथा तस्बिरका सम्बन्धमा आवश्यक कारबाहीका लागि कानुन र निर्दिष्ट निकायलाई अनुरोध गरिएको जानकारी मेरा समर्थक शुभेच्छुकहरूमा गराउन चाहन्छु ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सङ्घर्ष र मेहनतले बनेको व्यक्तिमा प्रश्न उठाउने अवस्था ल्याउन विभिन्न खालका प्रयासहरू निरन्तर गरिरहने केही प्रवृत्ति प्रति सचेत नै छु र यस्ता षड्यन्त्रहरू समयक्रममा प्रष्ट हुने नै छन् । षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो । त्यसर्थ कानुनी निष्कर्ष पर्खनु नै यतिबेलाको सही निर्णय हुनेछ भन्ने विश्वाससहित चासो चिन्ता व्यक्त गर्नुहुने एवं विश्वाससहित सद्भाव प्रकट गर्नुहुनेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *