बारा,४ कार्तिक ।
खानेपानी मन्त्री प्रदीप यादवले बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित विश्व प्रसिद्ध श्री गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका छन् ।
दर्शन गर्ने क्रममा मन्त्री यादवले “विश्व प्रसिद्ध श्री गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गर्ने अवसर प्राप्त भएको छ। यस वर्ष लाग्ने पाँच वर्षीय मेलामा लाखौँ श्रद्धालु र दर्शनार्थीहरूको पवित्र यात्रा सहज र स्मरणीय होस् “भन्ने कामनासहित आशिर्वाद प्राप्त गरेको बताएका छन् ।
मेलाको तयारीबारे जानकारी लिँदै खानेपानी मन्त्री यादवले श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र सरसफाइको उचित व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। अघिल्ला मेलाहरूमा आएका खानेपानी र शौचालयको अभावसम्बन्धी गुनासो समाधान गर्न यसपटक स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग समन्वय गरी समयमै उचित व्यवस्थापन मिलाउन निर्देशन दिएको बताएका छन् ।
नेपाल सरकार र खानेपानी मन्त्रालयले मेलामा सहभागी प्रत्येक श्रद्धालुको सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता मन्त्री यादवले व्यक्त गरेका छन् ।
