रसीद आलम,बिरगंज ,१२ मंसिर ।
वीरगञ्जमा अवैध रूपमा सुन चोरी पैठारी गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले १०७ ग्राम ८९ मिलिग्राम सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीको टोलीले मिति २०८१ मंसिर ११ गते, अपराह्न ३:४० बजे वीरगञ्ज महानगरपालिका–८, लिंक रोडस्थित सानिमा बैंकअगाडि शंकास्पद रूपमा गइरहेको ना. ६२ प २७०५ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकल चालक जय प्रकाश कुमार सोनारको साथबाट उक्त सुन फेला पारेको हो।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१५, भेडियाहीका २८ वर्षीय सोनारले लगाएको जिन्स पाइन्टको खल्तीमा कागजमा बेरिएको अवस्थामा पहेँलो धातु भेटिएको थियो। सुन चाँदी व्यवसायी संघले परीक्षणपछि उक्त धातु १०७ ग्राम ८९ मिलिग्राम शुद्ध सुन रहेको पुष्टि गरेको छ, जसको बजार मूल्य रु. १३ लाख ८८ हजार ४ सय ३६ रहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।
उक्त सुनको खरिद-बिक्री सम्बन्धी कुनै वैध कागजात नभेटिएकाले अभियुक्त सोनारलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिको विवरण
नाम: जय प्रकाश कुमार सोनार
उमेर: २८ वर्ष
ठेगाना: वीरगञ्ज महानगरपालिका–१५, भेडियाही
पक्राउ मिति: २०८१ मंसिर ११ गते
बरामद सुन: १०७ ग्राम ८९ मिलिग्राम
मोटरसाइकल: ना. ६२ प २७०५ (एफजेड)
