पर्सा, ३ चैत ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवामा उदाहरणीय कार्य गर्दै शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई ह्विलचेयर वितरण गरेको छ।
चैत २ गते सोमबार सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वाटर पर्सा, वीरगंज हेल्थ केयर अस्पताल तथा मानव सेवा आश्रमका प्रतिनिधि प्रकाश थारुको सहकार्यमा पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा कार्यक्रम आयोजना गरी ह्विलचेयर प्रदान गरिएको हो। कार्यक्रममा सम्बन्धित पालिकाका वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमअन्तर्गत जिराभवानी गाउँपालिका–१ निवासी ६२ वर्षीय प्रेम चौधरी, सोही स्थानका ३५ वर्षीय विनोद दास, धोविनी गाउँपालिका–५ निवासी ४५ वर्षीय मनबोध चौधरी तथा बिन्दवासिनी गाउँपालिका–३ झौवाका १० वर्षीय आलोक कुमार रामलाई ह्विलचेयर वितरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन निरौलाका अनुसार सशस्त्र प्रहरीले सीमाको सुरक्षा जिम्मेवारीसँगै सामाजिक तथा मानवीय सेवामा पनि निरन्तर सक्रियता देखाउँदै आएको छ। उनका अनुसार बाढी, पहिरो, चिसो जस्ता प्राकृतिक विपद्का समयमा मात्र नभई सामान्य अवस्थामा पनि सीमावर्ती क्षेत्रका नागरिकलाई सहयोग गर्दै आएको छ।
प्रवक्ता निरौलाले मानव सेवा प्रत्यक्ष रूपमा मानवीय संवेदनशीलतासँग जोडिएको विषय भएको उल्लेख गर्दै सहारा आवश्यक परेका व्यक्तिलाई सहयोग गर्नु नै साँचो मानवता भएको बताए। “जनताको सेवा व्यापक विषय हो, तर मानव सेवा भनेको कसैको दैनिक जीवनयापनमा सहजता ल्याउने प्रत्यक्ष सहयोग हो,” उनले भने।
ह्विलचेयर प्राप्त गरेपछि लाभग्राही तथा उनीहरूका परिवारजनले दैनिक जीवनयापनमा सहजता आउने भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्तो सहयोगले जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपालले स्थापना भएदेखि नै देशको सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण तथा राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउँदै भन्सार छली, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा सक्रियता बढाएको छ।
यससँगै सशस्त्र प्रहरीले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले संगठनको मानवीय पक्षलाई थप सुदृढ बनाएको छ। सुरक्षा जिम्मेवारीसँगै समाजप्रति उत्तरदायी भई गरिएका यस्ता कार्यले नागरिकस्तरमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।
मानवता, करुणा र सहकार्यको भावनालाई व्यवहारमा उतार्दै गरिएको यस पहलले समाजमा सहयोग र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
