रसीद आलम ,बारा, १२ मंसिर ।
लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै बाराको कोल्हवी नगरपालिका-५ सोनाभारस्थित एक घरबाट १७० किलो गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा खटिएको टोलीले गुप्त सूचनाका आधारमा दिनदयाल चौधरीको घरमा खानतलासी गर्दा रातो प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा २१ पोका गाँजा फेला परेको हो।
घटनास्थलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा ५० वर्षीय रमोद चौधरी र ५२ वर्षीय मनमती देवी चौधरी रहेका छन्।
बरामद गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
प्रहरीले लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।
