बारा, फागुन २०।
बारा प्रहरीले लागू औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले २ किलो ५०० ग्राम अफिम जस्तो लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले आज बिहान करिब ६:३० बजे जीतपुर सिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडि चेकपोस्टमा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको १२५ सिसीको डिस्कभर मोटरसाइकल रोकी जाँच गर्दा सिटमुनि लुकाइछिपाई ल्याउँदै गरेको लागू औषध बरामद गरिएको हो।
पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-३ निवासी ५० वर्षीय सञ्चलाल वाइवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ निवासी ४८ वर्षीय हिरालाल वाइवा रहेका छन्। उनीहरूबाट २ किलो ५०० ग्राम अफिम जस्तो पदार्थ (३ वटा गोला) बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
