फागुन महिनाका ‘सर्वोत्कृष्ट प्रहरी’ डीएसपी किशोर लम्साल घोषित

समाचार

विराटनगर, चैत ३ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।

प्रहरी संगठनको विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र जिम्मेवारीका साथ कार्यसम्पादन गरेको आधारमा लम्साललाई उक्त उपाधि प्रदान गरिएको कार्यालयले जनाएको छ।

डीएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा प्रभावकारी रूपमा कायम राख्दै कुनै अप्रिय घटना हुन नदिई निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, ‘Gen-Z आन्दोलन’ का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार तथा हिरासतबाट फरार भएका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। सोही क्रममा कार्यालय नजिकैको झाडीबाट वाई–१३४८७ नम्बरको मार्का–४ राइफल एक थान बरामद गरिएको तथा विभिन्न स्थानबाट १९ जना प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फागुन महिनामा दर्ता भएका ३५ वटा मुद्दामध्ये ‘Gen-Z आन्दोलन’सँग सम्बन्धित १० वटै मुद्दा फर्छ्यौट गरिनु, आन्दोलनका कारण क्षति पुगेको कार्यालय भवनको मर्मत तथा आवश्यक फर्निचर र विद्युतीय सामग्री व्यवस्थापनमा स्थानीय निकाय र सरोकारवालासँग समन्वय गर्नु उनको अर्को उल्लेखनीय उपलब्धि रहेको जनाइएको छ।

यसैगरी, ध्वनि प्रदूषण गर्ने २१७ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गर्नुका साथै चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा समन्वयकारी भूमिका खेलेका लम्सालले हालसम्म विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएका छन्।

समग्रमा शान्ति सुरक्षा मजबुत बनाउन र नागरिकमा सुरक्षाको अनुभूति दिलाउने गरी उत्कृष्ट कार्यसम्पादन गरेकाले डीएसपी लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *