रसीद आलम ,बिरगंज,१० माघ ।
नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत बार एशोसिएशनबीच प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, मानव अधिकार, सामाजिक न्याय, सुशासन र दिगो विकासका लागि आपसी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
दुवै संस्थाले लोकतन्त्र, विधिको शासन र सामाजिक न्यायका निम्ति संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार सामाजिक मुद्दाहरूमा बहस र अन्तरक्रिया कार्यक्रम आयोजना गरिने, पत्रकारहरूको पेशागत सुरक्षामा कानूनी सहयोग प्रदान गरिने र दुवै पक्षले एकअर्काका पेशागत प्रवर्द्धनमा सहकार्य गर्ने व्यवस्था गरिएको छ।
पत्रकारहरूलाई समाचार लेखनको क्रममा उत्पन्न कानूनी मुद्दामा बार एशोसिएशनले निःशुल्क कानूनी परामर्श र सेवा उपलब्ध गराउने सहमति भएको छ। यस्तै, बार एशोसिएशनका सदस्यहरूको पेशागत हितमा नेपाल पत्रकार महासंघले सहजीकरण गर्नेछ।
सम्झौता तीन वर्षसम्म लागू रहनेछ भने आवश्यकता अनुसार अवधि थप्न सकिनेछ। समझदारी पत्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बार एशोसिएशन पर्साका अध्यक्ष कमलमोहन पोखरेलले हस्ताक्षर गरेका छन्।

