बिरगंज ,२१ माघ ।
पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले फरार प्रतिवादी नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरेका छन्। अभियान अन्तर्गत, दुई दिनमै विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादी पक्राउ परेका छन्।
नेपाल-भारतबीच खुला सीमा रहेकाले केही फरार प्रतिवादी भारतका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका छन्। विशेषगरी, पर्सा जिल्ला बिहारसँग सिमाना जोडिएकाले बिहारमा समेत लुकेर बसेका प्रतिवादीहरूको पहिचान गरी भारतको स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर नेपाल फर्काइने एसपी मिश्रले बताएका छन्।
फैसला कार्यान्वयन विशेष टोलीद्वारा माघ १९ र २० गते सञ्चालन गरिएको अपरेशनमा विभिन्न मितिमा अदालतले फैसला सुनाएका १२ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई माघ २० गते पर्सा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
