काठमाडौंमा १ वर्ष कैद सजाय तोकिएका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

रसीद आलम,काठमाडौं, ७ भदौ ।
लागुऔषध सम्बन्धी कसूर मुद्दामा १ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा जिल्ला झापा, कमल गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ४० वर्षीय राजेन्द्र थापा रहेका छन्।

प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्र.उ. अपील राज बोहराले दिएको जानकारीअनुसार, थापाविरुद्ध काठमाडौं जिल्ला अदालतले मिति २०८० साल साउन २५ गते (२०८०।०४।२५) मा १ वर्ष कैद सजाय सुनाएको थियो। तर अदालतको फैसलापछि उनी फरार रहँदै आएका थिए।

फरार प्रतिवादीलाई पक्राउ गर्ने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष टोली परिचालन गरिएको थियो। त्यही क्रममा मिति २०८२ साल भदौ ५ गते (२०८२।०५।०५) काठमाडौं महानगरपालिका–२८ बागबजार क्षेत्रबाट थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका थापालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। अदालतले तोकेको सजायअनुसार कैद भुक्तानको प्रक्रिया अघि बढाइएको समेत प्रहरीले जानकारी दिएको छ।

प्रहरी प्रशासनका अनुसार फरार अभियुक्तहरूको खोजतलास, पक्राउ तथा कारबाहीलाई निरन्तर जारी राखिएको छ। यस किसिमका कदमहरूले न्यायालयको फैसला कार्यान्वयन र कानूनको शासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *