पर्सा, २६ फागुन ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१५ ब्रह्मचोकस्थित भाडाको कोठाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले गत शनिबार राति ८:३० बजेको समयमा गरेको खानतलासीमा ६ केजी ५९० ग्राम चरेशजस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह, र वीरगञ्ज महानगरपालिका-११ का २३ वर्षीय रवि चौधरी रहेका छन्।
प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू बस्दै आएको कोठा खानतलासी गर्दा प्लास्टिकको झोलाभित्र लुकाइराखेको अवस्थामा लागुऔषध फेला पारेको हो। पक्राउ परेका तीनै जनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत कारबाही गर्न ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सुबास भट्टले जानकारी दिए।
