बारामा १०३ केजी अवैध गाँजासहित ट्रक बरामद, चालक फरार

समाचार

बारा, ७ चैत ।

बारा जिल्लाको पचरौता नगरपालिका–३ रामनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बेनौलीबाट खटिएको गस्ती टोलीले १०३ केजी अवैध लागुऔषध गाँजासहित एक ट्रक बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक विश्वराज कुँवर क्षेत्रीको नेतृत्वमा खटिएको पाँच सदस्यीय मोटरसाइकल गस्ती टोलीले रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ना.८ख ९०२७ नम्बरको १२ चक्के ट्रक जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो। ट्रकको चालक बस्ने सिटको बर्नर भित्र र ट्रकको हुडमाथि लुकाइछिपाइ राखिएको अवस्थामा १०३ केजी गाँजा फेला परेको थियो।

तर, ट्रक चालक भने घटनास्थलमै ट्रक छाडेर फरार भएका छन्। सशस्त्र प्रहरी बल बाराका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीका अनुसार ट्रक चालकको खोजी कार्य जारी छ। बरामद गरिएको गाँजा र ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *