पर्सा ,२४ चैत ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको भुटनदेबी क्षेत्रबाट निस्केको तस्करीको पिकअप गाडी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३, भलुवाहीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो पिकअप गाडीलाई पछ्याएको थियो। टोलीलाई देखेपछि चालकले गाडी लिएर बिरगंजको ईनर्वा भुटनदेबी हुँदै नगवा तर्फ भागेको बताइएको छ। पछि धाउने क्रममा बाराको भलुवाही गाउँमा पुगेर चालक गाडी छाडेर फरार भएको प्रहरीले जनाएको छ।
बा.प्र.०१–०२७ च ८५०३ नम्बरको पिकअप गाडीमा तस्करी गरिएको भारी मात्राको कपडा फेला परेको छ। गाडीको मूल्य करिब २५ लाख रुपैयाँ र कपडाको मूल्य १० लाख ७ हजार ९ सय रुपैयाँ बराबरको रहेको मूल्यांकन गरिएको छ।
सशस्त्र प्रहरी बल, पर्साका अनुसार बरामद गरिएको गाडी र कपडा आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
