हनुमान जयन्तीको शोभायात्रामा भएको विवादबारे सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न पाँच बुँदे निर्णय

समाचार

बिरगंज ,३१ चैत ।

२०८१ साल चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा पर्सा जिल्लामा उत्पन्न विवादबारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा चैत ३१ गते सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजका अगुवा तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

बैठकले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकले पाँच बुँदे निर्णयसमेत गरेको छ, जसअनुसार:

निर्णय नं १: शोभायात्राका क्रममा भएको घटनामा संलग्न दोषीहरूको विस्तृत छानबिन गरी कानूनी कारवाही गरिने।
निर्णय नं २: अन्तरधार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षले सहयोग गर्ने र कानूनी प्रक्रियामा साथ दिने।
निर्णय नं ३: घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गरिने र क्षतिको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने।
निर्णय नं ४: कुनै पनि जात्रा, पर्व वा कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, उलंघन गरे कारवाही गरिने।
निर्णय नं ५: पर्सा जिल्लामा संचालित सबै धार्मिक संस्था तथा तिनद्वारा सञ्चालित विद्यालय/मदरसाको सूक्ष्म अनुगमन गरिने र आवश्यक परेमा कानूनी दायरामा ल्याइने।

बैठकले जिल्लामा धार्मिक सहिष्णुता र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षलाई जिम्मेवार र संयमित हुन आह्वान गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *