काठमाडौँ, १ बैशाख —
खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा विशेष टोलीले आइतबार (मिति २०८१ साल चैत ३१ गते) खानेपानी मन्त्रालयअन्तर्गतका विभिन्न विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ।
हालसालै कार्यालयमा कर्मचारीहरूको अनुपस्थिति र समयपालन नगर्ने प्रवृत्तिबारे व्यापक गुनासा उठिरहेका सन्दर्भमा उक्त अनुगमन गरिएको मन्त्री यादवले जानकारी दिए।
अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिसहितका सम्पूर्ण शाखाहरूको स्थलगत निरीक्षण गरिएको थियो। मेलम्ची खानेपानी विकास समितिमा मात्र १६ जना कर्मचारी अनुपस्थित रहेको पाइयो।
मन्त्री यादवले कर्मचारीहरूको अनिवार्य समयपालना र नियमित उपस्थिति सुनिश्चित गर्न बायोमेट्रिक (बिद्युतिय) हाजिरी प्रणाली लागू गर्न निर्देशन दिएका छन्। साथै, कार्य समयभित्र कार्यालयबाहिर जानुपर्ने अवस्थामा लकबुक प्रणाली अनिवार्य रूपमा सञ्चालन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
छलफलका क्रममा उपस्थित कर्मचारीहरूसँग कार्यसम्बन्धी समस्या, अवरोध र चुनौतीहरूबारे जानकारी लिइएको मन्त्री यादवले बताए। ती जानकारीको आधारमा संस्थागत सुधारका उपायहरू अवलम्बन गरिने विश्वास व्यक्त गरे।
“नियमितता, जवाफदेहिता र पारदर्शिता — प्रभावकारी सेवा प्रवाहको आधारशिला हो,” मन्त्री यादवले भने।
