बिरगंज, २५ वैशाख। भारत–पाकिस्तानबीच जारी युद्धको प्रभाव नेपालमा पनि देखिन थालेको छ। नेपालको संसददेखि सडकसम्म यसबारे बहस र सुरक्षा सतर्कता तीव्र देखिएको छ।
भारतले ‘सिन्दुर अपरेसन’ नाम दिइएको सैन्य कारवाहीमार्फत पाकिस्तानमाथि आक्रमण गरेपछि यसको चर्चा नेपाली संसदमा पनि उठेको हो। प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत आतंकवादविरुद्ध लडिरहेको भन्दै त्यसमा नेपालले साथ दिनुपर्ने धारणा राखे। उनले भने, “आतंकवादविरुद्ध जुनसुकै देश लडे पनि नेपालले त्यसलाई समर्थन गर्नुपर्छ।”
यसैबीच, नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललगायतले संसदमा बोल्दै भारत–पाकिस्तान युद्धबारे सरकारले आधिकारिक धारणा स्पष्ट नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
युद्धको सम्भावित असरलाई ध्यानमा राख्दै नेपालको सम्पूर्ण सीमामा सुरक्षा कडाइ गरिएको छ। विशेष गरी पर्साको वीरगंज–रक्सौल सिमानामा सशस्त्र प्रहरीले तालीम प्राप्त कुकुर प्रयोग गरी कडाइका साथ चेकजाँच गरिरहेको छ।
सशस्त्र प्रहरीका अनुसार सिमाना अहिले संवेदनशील अवस्थामा रहेकाले कुनै पनि लापरबाही नगरिएको छ।
यसैबीच, भारतको बिहार राज्यको मोतीहारी जिल्लामा चार जना शंकास्पद चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरू नेपाल–भारत सीमामा पर्ने रक्सौलको हरैया थाना क्षेत्र अन्तर्गत मितेरी पुल हुँदै भारत प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (SSB) द्वारा बुधबार पक्राउ परेका हुन्।
भारतको ‘सिन्दुर अपरेसन’मा हालसम्म दुबै पक्ष गरी ४४ जनाको मृत्यु भइसकेको छ। पाकिस्तान प्रशासित कश्मीर र पंजाब प्रान्तमा कम्तीमा ३१ पाकिस्तानीको मृत्यु भएको दाबी पाकिस्तानी मिडियाले गरेको छ भने भारतले पनि सीमापार आक्रमणमा एक सैनिकसहित १३ जनाको ज्यान गएको जनाएको छ।
यस परिस्थितिले नेपालमा सुरक्षा सतर्कता बढेको छ भने राजनीतिक वृत्तमा पनि यो विषय बहसको केन्द्रबिन्दु बनेको छ।
सिमानाकामा आवतजावत गर्नेलाई आफ्नो परिचय खुल्ने कागजात सङ्गै बोकेर आवतजावत गर्न अनुरोध गरिएको छ।
