बारा, ९ जेठ — सशस्त्र प्रहरी बल, नेपाल बारा अन्तर्गत सुरक्षा बेस जितपुरले तस्करी नियन्त्रण अभियान अन्तर्गत ठूलो सफलता हासिल गरेको छ। नियमित चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न वस्तुहरू बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको कलैयाबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमो र वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट भन्सार छलिएका वस्तुहरू बरामद गरेको हो। सिमरा उपमहानगरपालिका–२, पथलैयामा चेकजाँच गर्दा डेरी मिल्क, स्निकर्स, किन्डर जोय चकलेट, कपडा र धानको बीउलगायतका सामानहरू बरामद गरिएको हो। बरामद समानको अनुमानित मूल्य १ लाख ६९ हजार रुपैयाँ रहेको छ।
उक्त सामानहरू आवश्यक कारबाही तथा अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
डिएसपी भट्टका अनुसार, पछिल्लो पाँच महिनाको अवधिमा मात्रै सुरक्षा बेस जितपुरले करिब ५० लाख रुपैयाँ बराबरका भन्सार छलिएका विभिन्न सामान बरामद गरी सम्बन्धित निकायमा बुझाउँदै नेपाल सरकारको राजस्व संकलनमा महत्वपूर्ण योगदान दिएको छ।
सशस्त्र प्रहरी बलको यो अभियान तस्करी नियन्त्रणमा एक प्रभावकारी कदमको रूपमा देखिएको छ।
