जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु, दुईजना सकुशल

समाचार

पर्सा, जेठ १५। पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. १ रामभौरी नजिकैको सितलपुर जंगलमा जडिबुटी संकलन गर्न गएका एक व्यक्तिको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जेठ ९ गते साँझ करिब ७:१५ बजे उक्त स्थानमा जडिबुटी (कुरीलो) संकलन गरिरहेका जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. २ निवासी अन्दाजी ६१ वर्षीय श्याम बहादुर भुलनमाथि जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै रहेका भक्त बहादुर आले (६० वर्ष) र श्रवण भुलन (५१ वर्ष) भने सकुशल ज्यान जोगाउन सफल भएका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, पर्साले घटनाबारे जानकारी प्राप्त गरेपछि प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा SOCO टोली सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थलको मुचुल्का, लास परीक्षण लगायतका प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *