पर्सा, जेठ १५।
जिल्ला पर्साको पोखरिया नगरपालिका वडा नं. ९ बाट मोटरसाइकल चोरीको घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले दिएका छन्।
मिति २०८२ साल जेठ ८ गते राति करिब ११:०० बजे विहेको जन्ती गएको मौका छोपेर पोखरिया न.पा. वडा नं. ९ स्थित सडकबाट वीरगञ्ज महानगरपालिका वडा नं. २१ तासपुर निवासी ५४ वर्षीय राजदेव महतोको नाममा दर्ता भएको ना.५४ प ३८७७ नम्बरको कालो रातो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो।
चोरीको उजुरी पश्चात खोजतलास गर्दै जाँदा मिति २०८२ जेठ १० गते उक्त मोटरसाइकल पोखरिया नगरपालिका वडा नं. ४ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानको आधारमा उक्त मोटरसाइकल रितिक गिरी (वर्ष १९), राम बिश्वास कुमार राम (वर्ष २१) र कृष्ण महतो नुनिया (वर्ष १९) नामक तीन जना व्यक्तिले चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
