काठमाडौं, वैशाख ११।
खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारलाई बोतल र जारको पानीमुक्त क्षेत्र बनाउने ऐतिहासिक घोषणा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सिंहदरबार परिसरभित्र रहेका सबै मन्त्रालय तथा कार्यालयहरूमा अब मेलम्चीको शुद्ध र सुरक्षित पानी प्रयोगमा ल्याउने निर्णय गरिएको हो।
खानेपानी मन्त्रालयका अनुसार वैशाख महिनाको अन्तिम साताभित्रै सिंहदरबारमा मेलम्चीको पानी वितरण गरिने सुनिश्चित गरिएको छ। त्यसपछि हाल प्रयोग भइरहेको बोतल र जारको पानीलाई क्रमशः हटाइनेछ।
मन्त्री यादवले यो पहललाई केवल स्रोत व्यवस्थापनको मात्र होइन, स्वच्छता, पारदर्शिता र जनउत्तरदायी प्रशासनको दिशामा एक महत्वपूर्ण कदम भएको बताए। सिंहदरबारलाई शुद्ध पानीको पहुँचसहित उदाहरणीय प्रशासनिक केन्द्र बनाउने लक्ष्यसाथ सरकारले यो कार्य अघि बढाएको हो।
“सिंहदरबार — जुन देशको प्रशासनिक मुटु हो — त्यहाँ शुद्ध पानीको पहुँच सुनिश्चित गर्दै हामी उदाहरणीय अभ्यासको माध्यम बन्नेछौं,” मन्त्री यादवले भने।
उहाँले सिंहदरबारलाई अझ सक्षम, पारदर्शी र जनमैत्री बनाउने साझा संकल्पमा सबैलाई साथ दिन आग्रह गरे।
