वीरगञ्ज ,१४ माघ। पर्साको वीरगञ्ज–रक्सौल सीमा नाकालाई जोड्ने मितेरी पुलमा सम्पन्न गरिएको सौन्दर्यीकरण कार्य तथा नवनिर्मित सीमा सुरक्षा पोस्ट भवनको आज एक विशेष कार्यक्रमबीच सामूहिक रूपमा बेलुन उडाएर औपचारिक शुभारम्भ गरिएको छ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी बल पर्साका एसपी पुरन चन्द्र भट्टलगायत सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथिहरूले मितेरी पुल केवल आवागमनको माध्यम मात्र नभई नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, व्यापार र सांस्कृतिक सम्बन्धको प्रतीक भएको उल्लेख गरे। सौन्दर्यीकरण र सीमा सुरक्षा पोस्ट भवन निर्माणले सीमाक्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने विश्वास व्यक्त गरिएको थियो।
स्थानीयवासीहरूले यो पहलले सीमामा सुरक्षा मजबुत हुनुका साथै पर्यटकीय र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन्। कार्यक्रम सामूहिक बेलुन उडानसँगै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
