वीरगञ्ज, १३ माघ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला सम्पन्न गरेको छ। पर्सा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले उक्त भेला आयोजना गरिएको हो।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा क्षेत्र नं. १ बाट कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउन सम्पूर्ण मुस्लिम समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले भने, “अनिल कुमार रुंगटाको जीत भनेको क्षेत्र नं. १ का सम्पूर्ण बासिन्दाको जीत हो। उहाँ विकासप्रति प्रतिबद्ध र विश्वासयोग्य उम्मेदवार हुनुहुन्छ।”
त्यसैगरी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिका निर्णायक हुने उल्लेख गर्दै अनिल रुंगटाको जीतले क्षेत्र नं. १ का नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुंगटाले क्षेत्रको विकासका लागि आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, “यस क्षेत्रका समस्या मेरा आफ्नै समस्या हुन्। ती समाधानका लागि म सम्बन्धित निकायमा सशक्त आवाज उठाउनेछु। जनताको अधिकारका लागि संसदमा आवाज बनेर बोल्नेछु र आवश्यक परे जनतासँग काँधमा काँध मिलाएर अघि बढ्नेछु।”
भेलामा सहभागी जनसमुदायले एक स्वरमा अनिल कुमार रुंगटालाई विजयी बनाउने नारा लगाएका थिए। स्थानीय सहभागी जनसमुदायले आफ्नो मत नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुंगटा, उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति महमद सहाबोदिन लगायत मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
भेला नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भएको हो।
