नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) बैठक सम्पन्न, सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमति

समाचार

वीरगञ्ज, ७ असोज । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) को बैठक भारतको रक्सौलस्थित Integrated Check Post (ICP) मा बुधबार सम्पन्न भएको छ। बैठकमा नेपालका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू र भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारणका जिल्लाधिकारी (DM) तथा सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा नेपालतर्फबाट पर्सा, बारा, चितवन, नवलपरासी (सुस्ता पूर्व) र नवलपरासी (सुस्ता पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

बैठकमा नेपाल–भारत सीमासँग सम्बन्धित सीमा सुरक्षा सुदृढीकरण, सीमावर्ती क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने, अन्तरदेशीय अपराध नियन्त्रण तथा अवैध गतिविधि रोकथाम लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

त्यसैगरी, मानव तस्करी तथा लागूऔषध तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण, आवश्यक सूचना आदान–प्रदान तथा दुवै देशका सीमावर्ती सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको छ।

बैठकले खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्दै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वय कायम गर्न दुवै देशका सम्बन्धित निकायबीच निरन्तर सहकार्य र सूचना आदान–प्रदानमा जोड दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *