वीरगञ्ज ,७ असोज । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब २० लाख ८१ हजार २२० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधि बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ असोज ५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छप्कैया क्षेत्रका बाटोहरूमा निगरानी तथा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका सामान फेला पारेको हो।
प्रहरीका अनुसार बरामद खाद्यान्न तथा विभिन्न प्रकारका औषधिको कुल मूल्य रु. २० लाख ८१ हजार २२० रहेको छ। बरामद सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले भन्सार छलीका सामान बरामद गरेको जानकारी दिए।
