राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको कडा चेतावनी

समाचार

काठमाडौं,१४ माघ । नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग मर्यादित, व्यवस्थित र सम्मानजनक रूपमा गर्न सबैलाई आग्रह गरेको छ। गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराउँदै यसको उल्लङ्घन भए कानुनी कारबाही हुने स्पष्ट चेतावनी दिइएको छ।

विज्ञप्तिमा राष्ट्रिय झण्डाको आकार, प्रयोग विधि, फहराउने तरिका तथा प्रयोगमा निषेध गरिएका कार्यहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न वा गराउन नपाइने, झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न नहुने, च्यात्न, जलाउन, फ्याँक्न, सामान पोको पार्न वा व्यापारिक तथा विज्ञापन प्रयोजनमा प्रयोग गर्न निषेध गरिएको छ।

त्यसैगरी, व्यक्तिले शरीरमा राष्ट्रिय झण्डाको प्रतीक प्रयोग गर्दा कम्मरभन्दा माथि मात्रै प्रयोग गर्न पाउने, चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न नपाइने र छातीभन्दा तलका कुनै पनि भित्री वा बाहिरी कपडामा झण्डाको चित्र वा प्रतीक राख्न नहुने व्यवस्था रहेको छ। फहराउने प्रकृतिबाहेक अन्य कुनै प्रयोजनमा राष्ट्रिय झण्डा प्रयोग गर्न पनि निषेध गरिएको मन्त्रालयले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो वा कुनै पनि प्रकारको र्‍यालीमा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने र प्रचार–प्रसारका अन्य गतिविधिमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
गृह मन्त्रालयले मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ अनुसार राष्ट्रिय झण्डाको अपमान वा सार्वजनिक नैतिकता, शिष्टाचार तथा सदाचार विपरीत प्रयोग गर्न नहुने र उल्लङ्घन गरे सजायको व्यवस्था रहेको समेत स्मरण गराएको छ।

अन्त्यमा मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैमा हार्दिक अनुरोध गर्दै, दुरुपयोग भए कानूनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ।


प्रेस विज्ञप्तिमा सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हस्ताक्षर गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *