भारतीय अवैध माछासहित दुई जना पक्राउ, २६ लाखभन्दा बढीको सामान भन्सारमा दाखिला

समाचार

वीरगञ्ज, ११ वैशाख ।

सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले भारतबाट चोरी तस्करीको बाटो प्रयोग गरी नेपाल भित्र्याइएको अवैध माछासहित दुई जनालाई पक्राउ गरेको छ।

वैशाख ११ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५, ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्तर्गत बहुअरी चोकमा विशेष सूचनाको आधारमा गरिएको चेकजाँचको क्रममा उक्त अवैध सामान बरामद गरिएको हो।

नेपाल–भारत सीमा क्षेत्रबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश ३–००१–च–७९९२ नम्बरको सेतो रंगको बोलेरो पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा, गाडीमा लोड गरिएको माछाको जात, परिमाण र प्रस्थान स्थानसम्बन्धी विवरण तथा कागजातहरू नमेलिएकोले गाडीसहितका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज म.न.पा.–२५, ड्राइपोर्ट बस्ने ३४ वर्षीय सरोज सहनी मलाहा र बाराको विश्रामपुर गाउँपालिका–५, इटियाही बस्ने १८ वर्षीय भोला कुमार कुशवाहा रहेका छन्।

गाडीमा लोड गरिएको १,९२० केजी जल कपुरी जातको माछाको मूल्य रु. ४,०३,२००।– र बोलेरो गाडीको मूल्य रु. २२,००,०००।– गरी जम्मा रु. २६,०३,२००।– बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

भन्सार छली गरी ल्याइएको एसी र मोटरसाइकलसहित भारतीय नागरिक नियन्त्रणमा

जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित आदर्शनगरको सिर्सिया खोलानजिक सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको सामानसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक  सुब्बाकै कमाण्डमा खटिएको टोलीले ना.१५ प ३६८८ नम्बरको हिरो होण्डा मोटरसाइकलमा लुकाइछिपाई ल्याइएको १ थान एसी फेला पारेको हो। मोटरसाइकलमा एसी कपडाले बेरिएको अवस्थामा लोड गरिएको थियो।

उक्त मोटरसाइकलका चालक भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लाको पन्टोका ग्रामपञ्चायत, वडा नं. १६ निवासी ५२ वर्षीय विनोद प्रसादलाई नियन्त्रणमा लिइएको छ।

फेला पारिएको एसीको मूल्य रु. ७०,००० र मोटरसाइकलको मूल्य रु. १,००,००० रहेको हुँदा जम्मा भन्सार दाखिला मूल्य रु. १,७०,००० बराबर भएको बताइएको छ। आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको सामान र व्यक्ति २०८२ वैशाख ११ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *