पर्सा, जेठ २३।रसीद आलम
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको सहकार्यमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साको आयोजनामा बिहीबारदेखि ‘ट्राफिक सप्ताह २०८२’ औपचारिक रूपमा प्रारम्भ गरिएको छ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन वीरगञ्जको विभिन्न क्षेत्रहरूमा प्रभातफेरीसहित जनचेतनामूलक रयाली गरी भव्य रूपमा सम्पन्न गरिएको हो। यस सप्ताहको मुख्य उद्देश्य ट्राफिक नियमको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुरयाउनु रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताउनुभयो।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो। उहाँका अनुसार ट्राफिक सप्ताहको अवधिमा वीरगञ्जका विभिन्न क्षेत्रमा ट्राफिक नियमको प्रचार-प्रसार, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू, सचेतनामूलक रयाली, होर्डिङ बोर्ड, पम्पलेट वितरणलगायतका गतिविधिहरू सञ्चालन गरिनेछन्।
यस अवसरमा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बलका एसपी राधेश्याम धिमाल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं, समाजसेवी जयप्रकाश खेतान, कमल चौलागाईंलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गणेश अर्यालले ट्राफिक नियम पालन गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै सडक दुर्घटनाबाट बच्नका लागि सचेत हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, एसपी गौतम मिश्रले ट्राफिक सप्ताहमार्फत सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रवर्द्धन गर्न प्रहरी प्रशासन दृढताका साथ काम गरिरहेको जानकारी दिनुभयो।
ट्राफिक सप्ताहका क्रममा विद्यालय, व्यवसायी, यातायात व्यवसायी, चालकहरू तथा सर्वसाधारणबीच ट्राफिक नियमको महत्वबारे विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने पर्सा ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले जानकारी दिनुभयो।
सप्ताहभर सञ्चालन हुने कार्यक्रममा प्रहरी निरीक्षक भट्टका अनुसार सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालन, जिम्मेवार सवारी साधन सञ्चालनका विषयमा विशेष जोड दिइनेछ। साथै, वीरगञ्जका प्रमुख चोकहरूमा सचेतना प्लेकार्ड, ब्यानर, पम्पलेट वितरण, रेडियो जिङ्गल तथा विभिन्न अनलाइन प्लेटफर्महरूबाट समेत जनचेतना फैलाउने लक्ष्य रहेको छ।
यसैगरी, ट्राफिक सप्ताह २०८२ को सफलताका लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, यातायात व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहकार्य र समर्थनका लागि अपिल समेत गरिएको छ।
सडक सुरक्षा र ट्राफिक नियमको सम्मान सबैका लागि— सुरक्षित यात्रा सबैका लागि।
