रसीद आलम।मधेस प्रदेश , २३ जेठ ।
मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालको निर्देशनमा सशस्त्र प्रहरी बल नेपालले १५ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ। धनुषा जिल्लाको धनौजी गाउँपालिका–१, लखौरी सीमाक्षेत्र नजिकै सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलि गरेर नेपाल ल्याउँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएको कपडा आवश्यक कानूनी कारबाहीका लागि शुक्रबार जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।
डिआईजी ढकालले मधेश प्रदेशका सम्पूर्ण सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा थप सक्रिय भई तस्करी नियन्त्रणमा कडा निगरानी गर्न निर्देशन दिएका छन्। उनले राजस्व छली, तस्करी तथा अन्य आपराधिक क्रियाकलापहरूमाथि ‘शून्य सहनशीलता’ नीति अपनाउन प्रदेशभरिका सशस्त्र प्रहरीलाई विशेष निर्देशन दिएका छन्।
उनले सशस्त्र प्रहरीलाई आर्थिक, राजनीतिक वा सामाजिक कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न पनि स्पष्ट निर्देशन दिएका छन्।
डिआईजी ढकाल मधेश प्रदेशको सशस्त्र प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेदेखि नै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी र नियन्त्रण थप कडा बनाएको छ। यसले सीमाक्षेत्र हुँदै हुने तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीय बासिन्दाले समेत सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन्।
सशस्त्र प्रहरी बलको सक्रियताले अवैध कारोवार र राजस्व छलीमा संलग्न व्यक्तिहरूको मनोबल कमजोर हुने विश्वास सुरक्षा निकायहरूले व्यक्त गरेका छन्।
