सिरहा, असार ५ ।
खानेपानी मन्त्री प्रदीप यादवले आज सिरहाको नैनपुरमा सम्पन्न डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन समारोह बिहीबार धनगढीमाई नगरपालिका वडा नम्बर ११ र १३ मा आयोजित कार्यक्रममार्फत सम्पन्न भएको हो।
उक्त आयोजनाबाट हजारौं स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, “पानी केवल प्यास मेटाउने स्रोत होइन, यो समृद्धिको मूल हो। जहाँ पानीको अभाव छ, त्यहाँ अवसर पुर्याउने सरकारको अठोट आज मूर्तरूपमा देखिएको छ।”
उनले खानेपानी पहुँचसँगै नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनहरूमा दिगो, समावेशी र जनमुखी खानेपानी परियोजनालाई अझ विस्तार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए।
उक्त आयोजना सफल बनाउन सहयोग गर्ने स्थानीय समुदाय, जनप्रतिनिधि, निर्माण कम्पनी, प्राविधिक टोली लगायत सबै सरोकारवालाप्रति मन्त्री यादवले हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेका छन्।
“पानीले जोड्नेछ हाम्रो पहिचान, समृद्धि र भविष्य,” मन्त्री यादवले कार्यक्रममा जोड दिए।
