बीरगंज, असार २० ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको एसपी राधेश्याम धिमालको सक्रियतामा र प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा गरिएको छापामारीमा भन्सार छली गरी लुकाइछिपाई राखिएका ठूलो परिमाणका कपडा बरामद गरिएको छ।
मिति २०८२ साल असार १९ गते विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलका मातहत निकायहरू र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ स्थित छपकैया र नदिया टोलका विभिन्न व्यक्तिहरूका घरमा छापा मारी तथा खानतलासी गरेको थियो।
छानबिनका क्रममा भारतबाट अवैध रूपमा चोरी पैठारी गरी भण्डारण गरिएको अनुमानित रु.१८,५५,३५० बराबरको कपडा फेला पारिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी तथा नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस कारबाहीले सीमा क्षेत्रमा सक्रिय चोरीपैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता अझै प्रभावकारी बनिरहेको स्पष्ट देखिएको छ।
