बिरगंज, ४ बैशाख ।
पर्साको श्रीपुर वडा प्रहरी कार्यालयले भन्सार छली गरेर भारतबाट नेपाल ल्याउँदै गरिएको अबैध लत्ताकपडा नियन्त्रणमा लिएको छ। प्रहरीले जानकारी दिएअनुसार, बरामद गरिएका कपडाको कुल मूल्य रु ३ लाख ७७ हजार ७ सय ४४ रहेको छ।
बैशाख ४ गते बिहान ४ बजेतिर बिरगंज महानगरपालिका–१७, अलौ स्थित सिमानाबाट ल्याइँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो।
प्रहरीका अनुसार केही व्यक्तिहरू साइकलबाट कुर्ता-सुरुवाल, भेष्ट लगायत विभिन्न रेडिमेड कपडाहरू ल्याइरहेका थिए। तर, प्रहरी टोली देख्नेबित्तिकै उनीहरू कपडा छाडेर फरार भएका थिए।
बरामद गरिएका कपडाहरू आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीद्वारा जनाइएको छ।
