काठमाडौं, असार २५। श्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँ बस्तीको एक डेरामा आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। मिति २०८२ साल असार २३ गते राति करिब १० बजे उक्त डेरामा खानतलासी गर्दा चिनियाँ नागरिक वाङ जियान (उमेर ४०, पासपोर्ट नम्बर: EG2216171) लाई उक्त रकमसहित पक्राउ गरिएको हो।
वाङ जियान स्वयम्भूमा बसोबास गर्दै आएको र उनीसँग फेला परेको रकमको श्रोत स्पष्ट नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त रकम नेपाली रुपैयाँमा १ करोड ४४ लाख हो।
हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।
