वीरगञ्ज, ५ साउन।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भन्सार छलिको आशंकामा करिब १२ लाख रुपैयाँ बराबरको धान र ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल पर्सा का हालै नियुक्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा सञ्चालन भइरहेको तस्करीविरुद्धको विशेष अभियान अन्तर्गत उक्त कारबाही गरिएको हो।
प्राप्त जानकारी अनुसार, २०८२ साल साउन ५ गते साँझ करिब ६:३३ बजेको समयमा वीरगञ्ज महानगरपालिका–२६ स्थित तिलावेपुल क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीको गस्ती टोलीले करिब ६४ क्विन्टल धान लोड गरिएको ट्याक्टर नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको प्रहरी टोलीले डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा उक्त कारबाही गरेको हो। टोलीमा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजारासहित ५ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो।
गस्तीका क्रममा प्रदेश २–०२–००१ त ०३१५ नम्बरको ट्याक्टरमा कुनै प्रकारको बिल-बिजक नदेखाई ल्याइँदै गरेको ठूलो परिमाणको धान फेला परेपछि सुरक्षाकर्मीहरूले उक्त ट्याक्टरसहित धान नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको धानको मूल्य करिब रु. २,११,२०० रहेको छ भने प्रयोग गरिएको ट्याक्टरको अनुमानित मूल्य रु. १० लाख रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। यसरी बरामद गरिएको सामानहरूको कुल मूल्य रु. १२,११,२०० बराबर रहेको छ।
सशस्त्र प्रहरी बलका एसपी पुरन चन्द्र भट्टले पदभार ग्रहण गरेदेखि नै तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी तथा गस्ती सशक्त पारिएको बताइएको छ।
तस्करीविरुद्ध सशस्त्र प्रहरीले देखाएको सक्रियता र प्रभावकारी कारबाहीले सीमा क्षेत्रमा गैरकानुनी कारोबारमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ नियन्त्रणमा ल्याउने संकेत दिएको छ। यस प्रकारको कारबाहीले स्थानीयस्तरमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।
